आरम्भ कलेज : पढ्दै कमाउँदै नीति, पालिकासँग सहकार्य

Published Date: 12 Jan 2025

आरम्भ कलेज : पढ्दै कमाउँदै नीति, पालिकासँग सहकार्य

२६ पुस, काठमडौं । चितवनको भरतपुरस्थित आरम्भ कलेजले ‘पढ्दै कमाउँदै’को नीति लिएको छ । बिहान पढाइ हुने भएकाले दिउँसो काम गर्न चाहने विद्यार्थीलाई कामको अवसर दिइएको छ ।

प्राचार्य सुरज शिवाकोटीका अनुसार  विभिन्न संघ संस्थासँग समन्वय गरेर कलेजले कामको अवसर दिने गरेको हो । ‘कलेजमा गत वर्षदेखि नै आरम्भ इनोभेसन हब सञ्चालनमा छ ।  विद्यार्थीहरुले १३ वटा समूह बनाएर पढाइलाई बल पुग्ने कार्यक्रम गर्दै आएका छन्,’ शिवाकोटीले भने ।
 

पहिलो वर्ष ६ वटा कार्यक्रम भएका थिए, जसमा आइडिया स्टेसन अन्तर्गत सेफ सन्तोष साहलाई आरम्भ कलेजले ब्राण्ड एम्बेस्डर बनाएर कार्यक्रम गरिएको थियो । चितवन उद्योग संघसँगको सहकार्यमा ‘क्रिएटिङ स्टार्टअप कल्चर’ को पनि कलेजले आयोजना गरेको छ ।

‘कार्यक्रममा बीएचएम र बीआईएममा अध्ययनरत विद्याथी सहभागी थिए । विद्यार्थीलाई उद्योग र शैक्षिक संघसंस्थासँग जोड्ने काम गरेका छौँ,’ शिवाकोटीले भने ।

आरम्भ आईटी लर्निङ सेन्टर अन्तर्गत रोबोटिक एसोसिएसन अफ नेपालसँगको सहकार्यमा उद्यमशीलता सम्बन्धी पाँचदिने तालिम पनि कलेजले सञ्चालन गरेको छ । आरम्भ राइजिङ लिडर्स अन्तर्गत चितवन जिल्लाभित्र तथा जिल्ला बाहिरका १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई होटल तथा आईटी सम्बन्धी १५ दिने तालिम कलेजले दिएको छ ।

उद्यमी बन्न विद्यार्थीलाई आरम्भ रिसर्च एण्ड इन्क्युबेसन सेल अन्तर्गत आइडिया स्टुडियो, लिड एक्स नेपाल र फोर्थ भ्याली कन्साइजले सहजीकरण गरेका छन् । विद्यार्थीका लागि खेल उत्सव पनि कलेजले आयोजना गरेको छ ।

आरम्भ कलेजले स्थानीय तह र अन्य डेढ दर्जनभन्दा बढी निजी क्षेत्रका संघसंस्थासँग सहकार्य गर्दै आएको छ । प्राचार्य शिवाकोटीका अनुसार  ती संघसंस्थामा शिक्षा, सञ्चार, उद्योग र हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित रहेको छ । ‘पढ्दै कमाउँदै भन्ने कलेजको नीति छ । अहिलेको समय सूचना प्रविधिसहितको व्यवस्थापनको हो । त्यसैले विद्यार्थीहरुसामु आरम्भ कलेज एउटा अवसरका रुपमा आएको छ,’ उनले भने ।

त्रिविबाट सम्बन्धन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)बाट सम्बन्धन प्राप्त आरम्भ कलेजले बीएचएमतर्फ ६६ र बीआईएमतर्फ ६६ गरी कुल १३२ जना विद्यार्थी पढाउन अनुमति पाएको छ । व्यवस्थापन संकायतर्फ स्नातक तहका दुई कार्यक्रम सञ्चालित छन् । आरम्भ कलेजले व्यवस्थापन संकाय अन्तर्गत ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बीआईएम) र ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बीएचएम) को पढाइ सञ्चालन गरेको छ ।

चारवर्षे स्नातक तहको पाठ्यक्रममा आधारित यी विषयमा वर्षका दुई सेमेस्टरका दरले आठ सेमेस्टर पढाइ हुने प्राचार्य शिवाकोटीले जानकारी दिए । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कम्तीमा डी ग्रेड (एक दशमलव आठ जीपीए) ल्याएका विद्यार्थीले १२ कक्षा सकेपछि सिम्याट परीक्षा उत्तीर्ण गरेर सहजै भर्ना हुन पाउने उनले बताए ।

पहिलो वर्ष नै बीआईएमतर्फ ६५ जना र बीएचएमतर्फ ५८ जना भर्ना भएका प्राचार्य शिवाकोटीले जानकारी दिए । उनले भने, ‘स्नातक तहमा ड्रपआउटको समस्या छ । भर्ना भएकामध्ये बीआईएमतर्फ ७ जना र बीएचएमतर्फ १० जनाले पढाइ छाडेर विदेश गएका छन् ।’

व्यवस्थापन संकाय अन्तर्गतका बीआईएम र बीएचएम शैक्षिक कार्यक्रमले प्रविधि र होटल व्यवस्थापनमा विद्यार्थीहरुलाई पूर्णरुपमा योग्य, सक्षम र सफल तुल्याउने प्राचार्य शिवाकोटी बताउँछन् । ‘व्यावहारिक, सैद्धान्तिक र समयसापेक्ष अन्तर्राष्ट्रिय स्तरको सीप प्रक्षेपण गराई यस क्षेत्रका उद्योगहरुका लागि एक प्रमुख विकल्प बनाउने हुँदा यस संस्थाको समाजमा अलग पहिचान हुने र यसले चितवनको शैक्षिक नेतृत्व लिने कुरामा समेत हामी विश्वस्त छौँ,’ उनले भने ।

फुटसल, बास्केटबल र स्वीमिङ पुल निर्माणको योजना

विद्यार्थीलाई डिजिटल बोर्डमा पाठ्यसामग्री प्रस्तुत गरेर पढाउँदै आएको आरम्भ कलेजले टाढाबाट आउने विद्यार्थीलाई बसको व्यवस्था गरेको छ । कलेजमा सेमिनार हल, ल्याब र पुस्तकालय छन् ।

फुटसल, बास्केटबल र स्वीमिङ पुल निर्माणको योजना रहेको प्राचार्य शिवाकोटीले जानकारी दिए । इन्टर्नसिपका लागि स्थानीय र अन्तर्राष्ट्रिय तहमा सहकार्य भइरहेको उनले बताए ।

आरम्भ कलेज सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र सुवेदी विद्यार्थीहरुलाई सीप र ज्ञानको सम्मिश्रणबाट शिक्षा दिने उद्देश्य रहेको बताउँछन् । ‘चितवनमा उच्चशिक्षा लिन चाहनेलाई काठमाडौँ वा विदेश जान नपरोस् भन्ने उद्देश्यले भरतपुरमा कलेज सञ्चालनमा ल्याएका हौँ,’ उनले भने ।

बीएचएम र बीआईएममा अध्ययनरत विद्यार्थीका लागि विशिष्टीकृत ल्याबको व्यवस्था गरेको र विद्यार्थीहरुलाई विषयगत तालिम तथा प्रशिक्षण दिँदै आएको कलेजले जनाएको छ ।

स्थानीय निकायसँगको सहकार्यमा जोड

आरम्भ कलेजले वडा, गाउँपालिका, नगरपालिका वा महानगरपालिकासँग सहकार्यमा जोड दिँदै छात्रवृत्तिको व्यवस्था गरेको छ । त्रिविले तोकेको साथै स्थानीय निकायलाई समेत सहभागी गराई छात्रवृत्तिलाई पूर्णरुपमा लागू गरिएको कलेजको दाबी छ ।

चितवन जिल्ला स्वास्थ्य तथा पर्यटनको हब बन्दै गइरहेको सन्दर्भमा अबका दिनमा यसलाई शैक्षिक हबका रुपमा विकास गरिनुपर्ने सोचका साथ आरम्भ कलेजले सरोकारवाला रोजगारदाता संघसंस्थाहरुसँग साझेदारी कायम गर्दै आएको प्राचार्य शिवाकोटीको भनाइ छ ।

हालसम्म आरम्भ कलेजले आइडिया स्टुडियो, लिड एक्स नेपाल, फोर्थ भ्याली कन्साइज जापान र रोबोटिक एसोसिएसन अफ नेपालसँग साझेदारी गरेको छ । ‘आरम्भ कलेजले चितवनलाई आइटी हब र पर्यटकीय हब बनाउने कुरामा सहयोग पुर्याइरहेको छ’ उनले भने ।

नतिजा कस्तो छ ?

आरम्भ कलेज सुरू भएकै वर्ष बीएचएम पहिलो सेमेस्टरकी छात्रा ङवाङ बम्जन तामाङले ३.९२ जीपीए ल्याएकी थिइन् । देशैभरिमा उनले पाँचौँ स्थान हासिल गरिन् ।

बीएचएम पहिलो सेमेस्टरमा आरम्भकी नेबिका मैनालीले ३.९१ जीपीए ल्याएर जिल्लामा दोस्रो स्थान हासिल गरिन् । त्यसैगरी ओजस्वी आचार्यले ३.८१ जीपीए, अंगीता अधिकारीले ३.७८जीपीए , सन्ध्या गोलेले ३.७५ जीपीए र अर्सिया बानुले ३.६९ जीपीए ल्याएका कलेजले जनाएको छ ।

आरम्भ कलेजले वर्ष २०८१ ब्याचका विद्यार्थीहरूलाई स्वागत र अभिमुखीकरण कार्यक्रम पनि गरेको छ । बीएचएम र बीआईएमतर्फ भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको कलेजका प्राचार्य शिवाकोटीले बताउँछन् ।

०८० साल भदौबाट आरम्भ कलेजले आफ्नो सेवा सुरु गरेको थियो । चितवनका पाँच र काठमाडौँका पाँच जना मिलेर २०७९ सालमा कलेज स्थापना गरेका थिए ।

 

Other Recent Blogs
Front Office vs Food & Beverage vs Housekeeping: Which BHM Specialisation Fits You?

23 Sep 2026


BITM Project Portfolio Ideas for Students: 12 Practical Projects to Impress Employers

23 Sep 2026


Hotel Management in Chitwan: How Tourism, Events and Resorts Create BHM Career Paths

23 Sep 2026


BITM for Management Students After +2: Can Non-Science Students Build an IT Career?

23 Sep 2026